भूकम्पपीडितलाई बर्खाको त्रास बढ्यो !

भूकम्पपीडितलाई  बर्खाको त्रास बढ्यो !

32bc6b6bf553c588_7685_1

कपन अनलाइन, नुवाकोट, १२ जेठ, २०७३

भूकम्पबाट घर भत्किएका नुवाकोट जिल्लाको आठ गाउँ विकास समितिका नागरिक एक वर्षदेखि विदुर नगरपालिका–१ इन्द्रेणीचौरमा बसिरहेका छन् । दुई÷चार दिनयता आकाशमा कालो बादल मडारिएर गड््याङगुडुङ गर्दै पानी पर्न थालेसँगै नुवाकोट भाल्चेका श्रीमाया तामाङलाई आउन लागेको बर्खा च्यातिएको पालमा कसरी कटाउने भन्ने चिन्ताले सताउन थालेको छ ।

भूकम्पपछि एक वर्षयता पालमा बसिरहनुभएको उहाँलाई धुजाधुजा भएको पालले बर्खा कसरी थेग्ला भनेर राति निद्रा समेत पर्न छाडेको छ । भूकम्पपछि अस्थायी आवास निर्माणका लागि त्रिपाल अड्याउन राखिएको खामोसमेत अब काम नलाग्ने भएको छ । श्रीमाया तामाङ जस्तै अर्का दिलमान तामाङलाई पनि बर्खाभर अस्थायी टहरामा कसरी सुत्ने भन्ने चिन्ताले खाएको छ । दुई÷चार दिनयताको टापटिप पानीले पनि उहाँलाई चिन्तित बनाएको छ । भूकम्पमा भत्केको घर बनाउने रकम आफ्नो हातमा नभएको र सरकारले दिने अनुदानबाट जसोतसो जोहो गर्ने प्रतीक्षामा उहाँ हुनुहुन्छ ।

भूकम्पले घर लडाएपछि घर बनाउन सुरु गर्नु त टाढाको कुरा, घरको भग्नावशेष हटाउन पनि नागरिक गाउँ जान सकेका छैन । भूकम्पलगत्तै गाउँबाट नगरपालिकाको इन्द्रायणी चौरमा झरेको पनि वर्ष दिन बितेको छ । सरकारले अनुदानमा दिने रु दुई लाखले घर निर्माणको सोच बनाएका साल्मेका पेम्बर तामाङ यसपालिको बर्खामा सुरक्षित बसाइँको आश कम हुँदै गएको सुनाउनुहुन्छ । घर भत्किएपछि लालाबाला टिपेर विदुर नगरपालिका–१ को इन्द्रेणीचौर झरेर कष्टकर जीवन बिताइरहनु भएका डाबन तामाङसँग यत्ति बेला प्रश्नैप्रश्न मात्रै छन् । कहिलेसम्म टहरामा बसिरहनेदेखि घर बनाउन किलो गाड्न कता जाने भन्नेसम्मको अनुत्तरित जिज्ञासा उहाँसँग छ ।

भूकम्पले घर भत्किएर अझै टहरो र त्रिपालमुनि साँघुरिएकाहरु अहिले बर्खा नआइदिए पनि हुन्थ्यो जस्तो गरिरहेका छन् । झन् यसपालि वैशाखदेखि नै सुरु भएको बर्खाले उनीहरुको सात्तो लिएको छ । हावाहुरीले च्यातेको थोत्रा त्रिपाल समातेर बसिरहेका उनीहरुलाई बर्खाको आगमनले तर्साइदिएको छ ।वर्ष दिनदेखि त्रिपाल र टिनले बारेर बनाएको अस्थायी आवासमै दिन बिताइआएका पीडितलाई अहिले सुरक्षित बासस्थान तयार गर्ने हतारो छ । तर, पानीबाट सुरक्षित रहने अर्को आवास तयार गर्न पनि धेरै नै खर्च लाग्ने भएकाले सरकारबाट उपलब्ध हुने रकमबाट पक्की घर नै निर्माण थाल्ने सोचमा यहाँका नागरिक रहेका छन् । सरकारी रकम कुर्दाकुर्दै फेरि अर्को बर्खा पनि त्रिपाल र चौरमा बिताउने अवस्थामा आइपुगेका विस्थापित नागरिक भन्छन् – “यो बर्खामा बचाइदेउ ।” रासस

तपाइँको प्रतिक्रिया ।