देवघाटका वृद्धाश्रम सञ्चालन सहज बन्दै

देवघाटका वृद्धाश्रम सञ्चालन सहज बन्दै

528982_286364051455713_289311539_n

कपन अनलाइन, चितवन, १२ जेठ, २०७३

दुई वर्षअघिसम्म वृद्धवृद्धा पाल्न धौधौ परेको देवघाटका वृद्धाश्रममा पछिल्लो समय सहयोग गर्ने दाताको सङ्ख्या बढेसँगै वृद्धाश्रम सञ्चालनमा सहज भएको छ । देवघाटमा सञ्चालनमा रहेका तीनवटा वृद्धाश्रममध्ये देवघाट क्षेत्र विकास समितिले सञ्चालन गरेको देवघाट समाज कल्याण केन्द्र (वृद्धाश्रम) र रोटरी क्लबले सञ्चालन गरेको थाहा सदावर्त रोटरी करुणालयमा दाताकै सहयोगमा भोजनका लागि आवश्यक खाद्यान्न पुग्ने गरेको छ । देवघाट क्षेत्र विकास समितिको वृद्धाश्रम निःशुल्क हो भने रोटरी करुणालयमा वर्षको रु ६ हजार लिने गरिन्छ ।

पछिल्लो समय खुलेको एनआरएन वृद्धाश्रमको सञ्चालन गलेश्वर आश्रमले गर्दै आएको छ । त्यहाँ बस्ने वृद्धवृद्धाबाट वार्षिक रु २१ हजारदेखि २५ हजार ५०० सम्म रकम लिइँदै आएको छ । एनआरएन वृद्धाश्रममा भने दाताको खासै सहयोग नरहेको संयोजक यज्ञप्रसाद रेग्मीले बताउनुभयो । विश्व शान्ति महायज्ञले उपलब्ध गराएको जग्गामा एनआरएनले भवन मात्रै बनाएको भए पनि दातालाई विदेशी सहयोग आउँछ भन्ने परेका कारण सहयोग नआएको उहाँले बताउनुभयो ।

यद्यपि सबै अपुग खर्च आश्रमले व्यहोर्दै आएको भन्दै दातालाई सहयोगका लागि आग्रह पनि उहाँले गर्नुभयो । देवघाट समाज कल्याण केन्द्रमा ३२ जना, रोटरी करुणालयमा ४२ जना र एनआरएन वृद्धाश्रममा ६६ जना वृद्धवृद्धा रहेका छन् । दुई वर्ष अघिसम्म खाना खुवाउन धौधौ पर्ने गरेको देवघाट समाज कल्याण केन्द्रमा अहिले खाना खुवाउने पालो पाउन मुस्किल पर्ने गरेको केन्द्र हेर्दै आउनुभएका संयोजक ढकराज कोइरालाले बताउनुभयो ।

आमा खुवाउने औँसी, बुबाको मुख हेर्ने दिन, माघे सङ्क्रान्ति, सोह्रश्राद्धलगायतका दिन पालो पाउन मुस्किल हुने गरेको उहाँले बताउनुभयो । दाताले जन्मदिन, श्राद्धको तिथिका दिन, विवाह गरेको मिति, संस्था स्थापना दिनलगायतमा खाना खुवाउने चलन बढ्दो छ । सो केन्द्रमा एक दिन सादा खाना खुवाएको रु पाँच हजार र पनिरसहितको खानालाई रु छ हजार लिने गरिएको छ ।

रोटरी करुणालयले रु छ हजार ५०० एक छाकको लिने गरेको छ । त्यहाँ थाहा सदावर्त समेत छ । जसमा जोसुकैलाई खानाका लागि खुल्ला गरिने संस्थाका अध्यक्ष उपेन्द्र रिजालले बताउनुभयो । वृद्धाश्रमबाहेकका ७० देखि ८० जनाले दैनिक खाना खाने गरेको उहाँले बताउनुभयो । करुणालयमा हरेक महिनामा एक छाक, वर्षमा पाँच÷छ छाक खाना खुवाउने अग्रिम बुकिङसमेत हुने गरेको उहाँले बताउनुभयो ।

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शैलेन्द्र पियाले समितिले सञ्चालन गरेको केन्द्रमा ११० जनाले वर्षको एक दिन खाना खुवाउनका लागि नाम लेखाइसकेको र अक्षयकोषमा रु आठ लाख पुगेको बताउनुभयो । पछिल्लो समय सेवाको भावना बढ्दो भएका कारण वृद्धाश्रम सञ्चालन सहज बन्दै गएको उहाँले बताउनुभयो । समितिको वार्षिक रु १० लाख हाराहारीको बजेट वृद्धाश्रम सञ्चालनमा आउने गरेकोमा त्यसले नपुग हुँदा समस्या हुँदै गएको थियो । खाद्यान्न किन्न नपरेपछि कर्मचारीलाई तलब मात्रै खुवाउन पर्दा वृद्धाश्रम सञ्चालन सहज बनेको उहाँले बताउनुभयो ।

वृद्धाश्रममा विभिन्न कारणबाट वृद्धवृद्धा आउने गर्दछन् । घरपरिवारका सदस्य नभएर विचल्लीमा परेका केन्द्रमा आउने गरेका छन् । नजिकको नातेदार नभएको र सामान्य सम्पत्ति भएका एवम् वार्षिकरुपमा केही खर्च गर्न सक्ने रोटरी करुणालयमा आउने गरेका छन् । छोराछोरी बाहिर रहेका, हेरचाहा नपुगेका, पुण्य भूमिमा बस्न चाहने एनआरएन वृद्धाश्रममा आउने गरेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक जयकृष्ण शर्माले बताउनुभयो । पवित्र भूमि भएकाले जीवनको अन्तिम समय देवघाटमा बिताउन चाहने यहाँ आउने गरेको उहाँको भनाइ छ । वृद्धाश्रममा रहेका देशका विभिन्न क्षेत्रबाट आएका छन् । रासस

तपाइँको प्रतिक्रिया ।