जेठ १३ गते देशव्यापी चक्काजामको हल्लापछि गृह मन्त्रालय विज्ञप्ति

जेठ १३ गते देशव्यापी चक्काजामको हल्लापछि गृह मन्त्रालय विज्ञप्ति

taxi-lines

कपन अनलाइन, काठमाडौँ, ११ जेठ, २०७३

यही २०७३ साल जेठ १३ गते देशव्यापी चक्काजाम गर्ने भनी यातायात व्यवसायी तथा यातायात मजदुर सङ्गठनको नामबाट गरिएको घोषणाको सम्बन्धमा गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयले आज एक विज्ञप्ति प्रकाशित गरी जनाएअनुसार यातायात व्यवस्था ऐनमा भएको संशोधनका प्रावधानको कार्यान्वयनका सम्बन्धमा असहमति प्रकट गर्दै यस्ता विरोधका कार्यक्रम तय भएको बुझिन आएको सन्दर्भमा व्यवस्थापिका–संसद्बाट पारित कानुनमा भएको व्यवस्थालार्ई पालना गर्नु÷गराउन आम नागरिकलगायत सम्बन्धित सबै निकायको दायित्व तथा कर्तव्य हुन आउँछ ।

यस सम्बन्धमा कोही कसैको कुनै असहमति वा असन्तुष्टि भएम तिनलाई कानुनले निर्धारण गरेको प्रक्रिया अवलम्बन गरी प्रकट गर्न सकिने कुराको स्मरण गराउँदै यस्ता आन्दोलन तथा विरोधका कार्यक्रम गर्दा संवैधानिक तथा कानुनी दायराभित्र रही गर्न सम्बन्धित सबैमा गृह मन्त्रालयले अनुरोध गरेको छ ।यस्ता आन्दोलन तथा विरोधका कार्यक्रम गर्दा आम नागरिकका मौलिक अधिकार निर्बाध रुपमा उपभोग गर्न पाउने हक कुण्ठित हुन नदिनेतर्फ सजक रहन सचेत गराइएको छ ।

आन्दोलन र विरोधको नाममा संविधान तथा प्रचलित कानुन विपरीतका क्रियाकलापमा संलग्न व्यक्ति तथा समूहलाई प्रचलित कानुनबमोजिम कारबाही हुने हुँदा यस प्रकारका कुनै पनि गैरकानुनी गतिविधि नगर्न÷नगराउनसमेत सम्बद्ध सबैमा मन्त्रालयले अनुरोध गरेको छ । रासस

तपाइँको प्रतिक्रिया ।