जब गगन थापाले आफ्नो तर्फबाट एकलाख दिन्छु भने, ताली रोकिएन !!!

जब गगन थापाले आफ्नो तर्फबाट एकलाख दिन्छु भने, ताली रोकिएन !!!

0U7A9821

कपन अनलाइन, बैशाख २६, २०७३

बैशाख २५ गते शनिवार कपनको बगलामुखी परिसर टनमन मानिसले भरिएको थियो । नेपाली संगीत क्षेत्रका धेरैभन्दा धेरै महत्वपूर्ण व्यक्ति कपनको यो सुन्दर डाँडोमा रहेको यस मन्दिर परिसरमा एकत्रित भैरहँदा वातावरण संगीतमय भएको थियो । नवौँ वार्षिकोत्सव मनाइरहेको कपन संगीत सरोवरको विशेष कार्यक्रममा भेला भएका विशिष्ट पाहुनाहरुमा एक थिए सांसद तथा नेता गगन थापा । नेपाली राजनीतिमा प्रचुर सम्भावना भएको र कसी लाउन बाँकी रहेका एकमात्र नेता अब गगन थापा मात्र हुन् । कार्यपालिकाअन्तर्गत अझसम्म कुनै क्षेत्रमा काम गर्न नपाएका थापालाई भविष्यको प्रधानमन्त्रिको रुपमा धेरैले सोचेका तथा आशा गरेका व्यक्ति हुन् ।

समयमा नपुग्ने र हतारिएर हिँड्ने भनेर आरोप लाग्ने थापा कपन संगीत सरोवरको कार्यक्रममा आउँदा अविचलित लामो समय बिताएको धेरैले देखेका छन् । यो शनिवारसहित करिब ७ वटा कार्यक्रममा उनी कपन संगीत सरोवरको आएका छन् । जतिपटक आए त्यति नै पटक उनी करिब २ घण्टा संगीत सुनेर बसे । राजनीतिका धेरैभन्दा धेरै पक्षसँग साक्षात्कार हुनु पर्ने भएकाले कतिपय अवस्थामा उनी समयमा पुग्न पाउँदैनन र चाँडै निस्कनु पर्नेहुन्छ । ‘संगीतले छुन्छ, त्यसैले हतार हुँदाहुँदै पनि बसेको छु’ गगनले भने । बैशाख २५ गते शनिवार हल्का हरियो कुर्तामा सजिएर गगन थापा कपन संगीत सरोवरको कार्यक्रममा आउँदा मञ्चमा यलमाया क्लासिकले बाँसुरीवादन गरिरहेको थियो । दर्शकदीर्घाको अघिल्लो रो मा बसे ।

गगन थापाको आगमनसँगै कपन संगीत सरोवरले एकवर्षभित्र दशलाखको अक्षयकोष निर्माण गर्ने घोषणा गरेपछि थुप्रै नामहरुले आफू १० हजार दिन तयार भएको बताए । धेरैले नाम टिपाए । यसरी नाम टिपाउनेमा क्षेत्र नं. ४ नेपाली कांग्रेसभित्र धेरै नामहरु थिए । क्षेत्रीय सभापति भएका राजु श्रेष्ठले ‘अहिले १०,००० बैना दिएँ, अझै बढाउनेछु’ भन्दै कपन संगीत सरोवरलाई केही महत्वपूर्ण सहयोग गर्छु भन्दै नगद हस्तान्तरण गरे । उनीसँगै आएकी राधा घले, कर्माछिरिङ शेर्पालगायतले पनि १० हजार दिने वचन दिए । अरु थुप्रै व्यक्तिहरुले अक्षयकोषमा पैसा दिने वचन दिँदै गएका थिए । यसरी १० हजार दिन्छु भनेर वचन दिनेमा रामकृष्ण केसी, सागर बैजु, तेजकुमार केसी, रविप्रसाद पौडेल, सुनित चालिसे, तेजबहादुर रोक्का, टंक सापकोटालगायतका व्यक्तिहरू थिए ।

पंडित समिर डेको स्वतन्त्र तबला वादन सकिएपछि कपन संगीत सरोवरका अध्यक्षले सांसदलाई केही बोलिदिन आग्रह गरे । दुई मिनेटका लागि मञ्चमा आएका थापाले के बोल्लान् भन्ने सबैको चासो थियो । उनले सबैलाई दिलछुने कुरा गर्ने क्रममा सांसद विकास कोषबाट तत्काल बगलामुखी मन्दिर परिसर र संगीत सरोवर परिसरमा सौर्यउर्जा बत्ति जडान गरिदिने भनेपछि कार्यक्रममा उपस्थित करिब १०० जना व्यक्तिले ताली बजाएर स्वागत गरे किनकी यसको खर्चको हिसाब गर्दा १ लाखको हाराहारी खर्च हुने भएकोले सबैले यसलाई ठूलो सहयोग माने । सौर्यउर्जाको बत्ति जडानको कार्य तत्काल गर्ने वचन दिएका थापाले अक्षयकोषको कुरा उठाए । उपस्थित सबैले गगन थापाले पनि १० हजार दिने भए भन्ने आशा गरे । तर सबैको आशा विपरित उनले कपन संगीत सरोवरको अक्षयकोषलाई आफ्नो व्यक्तिगत तर्फबाट रु. एकलाख प्रदान गर्ने घोषणा गरेपछि १ मिनेटसम्म ताली रोकिएन । कार्यक्रममा उपस्थित सबै तहतप्का तथा सबै पार्टीका मानिस थापाको यो घोषणामा नतमस्तक भए । उनलाई नजिकबाट चिन्नेहरुले गगन थापाले हत्पति व्यक्तिगत रुपमा यतिधेरै सहयोग गर्छ भनेको नसुनेको बताउँदै संगीतप्रति उनको लगाव एवम् मोहको उपज भएको बताए । कार्यक्रम सकिँदासम्म गगन थापाको प्रशंसा भैरहेको थियो । (फोटो:सागर बैजु)

तपाइँको प्रतिक्रिया ।