जगन्नाथ मन्दिर, बधशाला र रविन अधिकारी !!!

जगन्नाथ मन्दिर, बधशाला र रविन अधिकारी !!!

13115600_774908862611300_1451889842_n
कपन अनलाइन/ बैशाख २१, २०७३

भनिन्छ बुढानिलकण्ठ नगरपालिकामा रविन अधिकारीको राज चल्छ । राज चल्छ भन्नुको अर्थ बोलीमा पकड भएका कारण उनले बोलिसकेपछि हत्तपत्त कसैले कुरा काट्न सक्दैनन् । एमाओवादीका नगर अध्यक्ष रविन बुढानिलकण्ठ नगरपालिकाको प्रायः सबै विषयमा जानकारी राख्दछन् । कपनको पाथीभरा टोलदेखि बुढानिलकण्ठको मुहानपोखरीसम्मको विकास निर्माण, समस्या र समाधानका बारेमा उनको फराकिलो सोच छ । बुढानिलकण्ठ नगरपालिकालाई कसरी विकासको ट्रयाकमा ल्याउने बारेमा उनसँगको खाका नै छ । तर उनी नगरपालिकामा प्रतिनिधित्व गर्ने राजनीतिक सहकर्मीसँग भने सन्तुष्ट छैनन् । उनी समग्र बुढानिलकण्ठ नगरपालिकाको विकासको बारेमा सोच्छन् तर उनका अरु पार्टीका प्रतिनिधि सहकर्मीहरु आफ्नो एरिया, आफ्ना मान्छे, ठेक्कापट्टामा नै व्यस्त रहने गरेको आरोप लगाउँछन् ।

क्षेत्र नं. ४ मा पछिल्ला दिन केही कमजोर देखिएको एमाओवादीको बागडोर सम्हालेपछि पार्टी संगठनलाई गतिशील बनाउन दौडिरहेका रविनलाई बैशाख २० गते साँझ बुनपा वडा नं. ९ को जगन्नाथ मन्दिर परिसरमा भेटियो । यही गाउँमा हुर्किबढेका ५० वर्षीय रविन चिटिक्क परेर हिँड्ने एमाओवादी नेता हुन् । त्यसो त उनी एमाओवादी हालसालै भएका हुन् । पहिला कांग्रेस थिए । कांग्रेसभित्र उनको योगदान ०३६ सालदेखिकै हो । कांग्रेस भित्रको वातावरणले उनलाई सामाजिक बन्न अभिप्रेरित गराउन सकेन ।  आफूलाई समाजमा केही गरेर देखाउने चाहना झन्झन् बढ्दै गएकोले ५० वर्षको उमेरमा  एमाओवादी बनेको बताउन हिच्किचाउदैनन् रविन ।

बुढानिलकण्ठ नगरपालिका क्षेत्रमा हालसालै निर्माण भएका मन्दिरहरुमध्ये उत्कृष्ट मानिने जगन्नाथ मन्दिरको प्रांगणमा करिब ५० जना स्थानीय महिला तथा पुरुषको भेला थियो । पठानहरुले लगाउने कुर्ता सुरुवालमा सजिएका रविन अधिकारी भर्खरै किनेको नयाँ कारमा मन्दिर प्रांगणमा पुग्दा अपरिचितलाई कुनै एमाओवादी नेता आएको आभाष हुन निकै गारो थियो । उनको बोलीवचन तथा वातावरणलाई पार्ने सहजता र सहजिकरणको स्टाइल पनि माओवादी नेताको पाराको थिएन ।

13153229_774908955944624_1975321756_n
जगन्नाथ मन्दिरको ठीक अघिल्लो भागमा कसैले पशुबधशाला खोल्यो भनेर स्थानीयले विरोध गरेपछि वातावरणलाई सहज बनाउन आएका रविन अधिकारीले १५ मिनेटमा लगभग ५० जना स्थानीय र पशुबधशाला खोल्ने व्यक्तिबीचको समस्यालाई समाधान गरे । २ दिनमा त्यो बधशाला सो स्थानबाट हटाउने भन्ने लिखित निर्णयमा समन्वयकारी भूमिका निर्वाह गर्दा उपस्थित धेरैले उनको भूमिकाको प्रशंसा गरे । हँसिला मिजासका रविनले जगन्नाथ मन्दिरको बारेमा कपन अनलाइन जानकारी गराए । जगन्नाथ मन्दिर नै किन ? भन्ने चासोमा उनले सायद काठमाडौंमा पहिलो जगन्नाथ मन्दिर होस् भन्ने चाहानाले भन्ने उत्तर दिए । पक्का कुरामा पनि सायद भनेर उत्तरलाई मिठास दिने स्वभावका रविन विस्तारै बोल्ने र मिजासिलो बोल्ने व्यक्ति हुन् त्यसो त उनले कड्किएर बोलेको देख्नेहरु पनि कम छैनन् । जुन ठाउँमा बसेर हामी उनीसँग कुरा गरिरहेका थियौँ, यो जगन्नाथ मन्दिर उनकै अध्यक्षतमा बनेको मात्र हैन अहिले पनि जगन्नाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रविन नै रहेछन् । मन्दिरसँगै मन्दिरको आफ्नै कार्यालय तथा पुजारी बस्ने गृहसमेत बनेको रमणीय डाँडोसँग जो कोही मुग्ध हुनसक्ने वातावरण रहेको छ ।

13162443_774909019277951_1492686505_n
केही दिन अघिमात्र पाथीभरा दर्शन गरेर आएका रविन अधिकारीले शरिरमा भिटामिन डिको कमिले अलि असहज महशुस भैरहेको बताए । भिटामिन डिको कमिले हातमा अलि समस्या भएको बताउँदै दाँतको उपचार गरिरहेको पनि उनले बताए । कपन अनलाइनसँगको छोटो भेटमा उनले आफ्नो सामाजिक छविको मात्र परिचय दिएनन् उनीभित्रको बौद्धिकताको पनि परिचय दिइरहेका थिए । कपनअनलाइनसँग बुढानिलकण्ठ नगरपालिकाको सर्वाङ्गिण विकासका लागि एउटा महत्वपूर्ण भिडियो अन्र्तवार्ताको बारेमा कुरा भएपछि रविन अधिकारीसँग हामी विदा भयौँ । जगन्नाथ मन्दिरमा भेला भएका स्थानीयवासीसँग रविन र वडा नागरीक मंचका पुरुषोत्तम कोइरालासहित व्यक्तिहरुको कुराकानीको भिडियो अंश हेर्नुहोस् ।

-केशव पाठक

तपाइँको प्रतिक्रिया ।