उपत्यकामा भूकम्प जानुअघि नै सूचना दिने यन्त्र जडित

उपत्यकामा भूकम्प जानुअघि नै सूचना दिने यन्त्र जडित

काठमाडौँ, १४ वैशाख । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) ले काठमाडौँ उपत्यकाका चार स्थानमा भूकम्प जानुभन्दा १० देखि २० सेकेन्ड अग्रीम सूचना दिने यन्त्र जडान गरेको छ ।

प्रतिष्ठान परिसर खुमलटार, त्रिवि भूगर्भ केन्द्रीय शिक्षण विभाग कीर्तिपुर, भृकुटी होटल गोदावरी र सौर्य स्कुल सिनामङ्गलमा अग्रिम सूचना दिने प्रणाली जडान गरिएको हो । सो प्रणाली जडान गरिएको ८० किमीको दूरीमा भूकम्प गए १० देखि २० सेकेन्ड अगावै सूचना पाउन सकिन्छ ।

सो यन्त्रले भूकम्प जानुपूर्व भूकम्पको केन्द्रबिन्दुको दूरी र तीव्रताका आधारमा भूकम्पीय तरङ्ग प्राप्त गरी मानिसलाई सचेत गराउने नास्टका प्रविधि प्रमुख डा सुरेशकुमार ढुङ्गेलले राससलाई जानकारी दिनुभयो । “यो प्रविधि चार स्थानमा स्थापना गर्न चीनको इन्स्टिच्युट अफ केयर लाइफको सहयोगमा अनुदास्वरुप प्राप्त भएको हो, अन्य स्थानमा राख्न सरकारले आर्थिक सहयोग गरे नास्टले देशका विभिन्न भागमा जडान गर्ने योजना बनाएको छ”– उहाँले भन्नुभयो ।

सो प्रविधि जडान गरिएपछि विद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारी र वरपरका मानिसलाई समेत भूकम्पको अग्रीम जानकारी प्राप्त हुँदा सुरक्षित हुने आशा जागेको सौर्य स्कुलका प्रअ भीमआङ लिम्बूले बताउनुभयो । रासस

तपाइँको प्रतिक्रिया ।