पक्राउ परेका भारतीय प्रहरी रिहा

धनगढी, १४  वैशाख । हातहतियारसहित डोटीको सानागाउँबाट आइतबार पक्राउ परेका पाँच भारतीय प्रहरीलाई हिजो  कैलाली प्रहरीले रिहा गरेको छ ।

सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक विजयराज भट्टका अनुसार नेपालस्थित भारतीय दूतावासका प्रथम सचिव डा क्यानन्ट र पन्जाबस्थित भारतीय प्रहरीका नायब उपरीक्षक गुरुमित सिंहको रोहबरमा तिनलाई रिहा गरिएको हो ।

डोटीमा पक्राउपछि भारतीय प्रहरीलाई आइतबार राति धनगढी ल्याइएको थियो । रिहापछि नेपाल प्रहरीको टोलीले पक्राउ परेका भारतीय प्रहरीलाई कैलाली भन्सार हुँदै सीमापारि गौरीफन्टासम्म पु¥याएको थियो ।

पन्जाबका चिकित्सक डा रमेशकुमार पुरीको हत्याका अभियुक्त खोज्न भन्दै सादा पोसाकमा हतियारसहित नेपाल प्रवेश गरेका ती प्रहरीलाई अछाम जाने क्रममा डोटीको सानागाउँबाट आइतबार बिहान पक्राउ गरिएको थियो ।

हत्या आरोपमा अछाम जिल्लाका दुई नेपालीलाई पक्राउ गर्न पर्यटकका रुपमा उनीहरु नेपाल प्रवेश गरेको जनाइएको छ । पश्चिमी मिमानाका गड्डाचौकीबाट नेपाल छिरेका उनीहरुबाट एक एक थान एके–४७ राइफल र पेस्तोल तथा दुवै हतियारमा लाग्ने ३७ थान गोली बरामद गरिएको थियो ।

तपाइँको प्रतिक्रिया ।