एके–४७ हतियारसहित पाँच भारतीय प्रहरी डोटीबाट पक्राउ

एके–४७ हतियारसहित पाँच भारतीय प्रहरी डोटीबाट पक्राउ

१२ वैशाख । भारतको पञ्जाबबाट अपराधी खोज्न भन्दै हिँडेका भारतीय प्रहरी निरीक्षकसहित पाँच जना भारतीय प्रहरी सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम डोटीबाट आइतबार बिहान पक्राउ परेका छन् ।

पश्चिमी नाका गड्डाचौकी भएर हतियारसहित सादा पोसाकमा नेपाल पसेका ती प्रहरीलाई डोटी प्रहरीले सानागाउँ, चौखुट्टे नजिकैबाट पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ । सानागाउँ डोटी र अछामको सीमा क्षेत्र हो ।

‘पाँच जना भारतीय प्रहरी पञ्जाबको डाक्टर हत्या प्रकरणका आरोपितलाई खोज्न भन्दै अछाम जान लागेका बेला पक्राउ परेका हुन्,’ प्रहरीले स्रोतले भन्यो – ‘उनीहरुले बाटो देखाउन भन्दै पञ्चाबबाटै अछामका एक स्थानीयवासीलाई लिएर हिँडेका थिए ।’

स्रोतका अनुसार उनीहरुसँग एक थान एके–४७ तथा त्यसमा लाग्ने गोली २५ थान र पेस्तोल तथा गोली १२ थान समेत भेटिएको छ ।

उनीहरु वनबासा सीमा क्षेत्रसम्म पोसाकमा आएको र सीमा वारि आइसकेपछि सादा पोसाकमा भित्रिएको थाहाभएको छ । उनीहरु निजी जीप लिएर डोटी पुगेका थिए । पाँचै जनालाई कैलाली ल्याइँदैछ । हतियारसहित भारतीय सुरक्षाकर्मी नेपाल आउजाउ गर्न पाउँदैन । यस घटनाबारे जान्न खोज्दा सुदूरपश्चिम क्षेत्रीय प्रहरी प्रमुख डिआइजी विजयराज भट्टले विस्तृत विवरण दिन चाहनुभएन । ‘अहिले नै मकहाँ आइपुगेको छैन,’ डिआइजी भट्टले भन्नुभयो । रासस

तपाइँको प्रतिक्रिया ।