कोरिया भाषा परीक्षा परिमार्जनको तयारी

कोरिया भाषा परीक्षा परिमार्जनको तयारी

काठमाडौँ, ८ वैशाख । रोजगार अनुमति प्रणालीअन्तर्गत इपिएस भाषा परीक्षा पढेर उत्तीर्ण गरी रोजगारीका लागि दक्षिण कोरिया जाने अहिलेको शैली परिमार्जन हुने भएको छ ।

अब पढाइ सँगसँगै कामदारको सीप परीक्षण, शारीरिकस्वरुप, अन्तवार्ताजस्ता थप विधिलाई समेत परीक्षाको माध्यम बनाइन लागिएको हो । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा कोरिया मानव संशाधन विकासअन्तर्गत इपिएस सेन्टर नेपालका महानिर्देशक किम कि वुकले सन् २०१९ देखि कामदार छनोट प्रणालीमा अङ्क प्रणाली लागू गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

अहिले विद्यमान रहेको सुनाइ र लेखाइ गरी २०० पूर्णाङ्क रहेको भाषा परीक्षा प्रणाली परिमार्जन गरी नयाँ प्रणालीमा सीप परीक्षणसमेत थपिने छ । कोरियाले अङ्क प्रणालीअनुसार उत्पादनमूलक उद्योगमा भाषा परीक्षा १०० पूर्णाङ्क र सीप परीक्षण परीक्षा १०० पूर्णाङ्ककै हुन्छ । अन्य उद्योगअन्तर्गत कृषि, मत्स्यपालन, निर्माणलगायतमा कोरिया भाषा परीक्षा ९० र सीप परीक्षण ११० पूर्णाङ्कको हुनेछ ।

नयाँ प्रणालीले कोरियन भाषाको मात्रै क्षमता नभएर शारीरिक अवस्था, सीपको स्तर, कामको अनुभव आदिलाई समेत प्राथमिकता दिइएको महानिर्देशक वुकले बताउनुभयो । उहाँले सन् २०१९ बाट अहिलेको कागजी परीक्षा प्रणालीसमेत परिमार्जन गरी कम्प्युटरमा आधारित परीक्षा हुने जानकारी दिनुभयो । त्यसका लागि तीन वटा परीक्षा भवन बनाउने तयारी भइरहेको समेत उहाँले बताउनुभयो । आगामी असारमा सातौँ भाषा परीक्षा हुने भएको छ भने नयाँ परीक्षा प्रणाली नवौँ भाषा परीक्षाबाट लागु गरिने छ ।

सम्बन्धित मुलुकको गैरकानुनी कामदारको अवस्था, परीक्षा प्रणालीको शुद्धता, सरकारले गर्ने सहयोगको आधारमा सो देशको कामदारको कोटा प्रणाली थपघट हुनसक्ने उहाँको भनाइ थियो । महानिर्देशक वुकले नेपालसहित १६ देशबाट इपिएस मार्फत कामदार ल्याइरहेको जानकारी दिँदै तीमध्ये अधिकांश मुलुकमा यसअघिनै अङ्क प्रणाली लागू गरिसकिएको बताउनुभयो ।

परीक्षाको दरखास्त संकलन व्यवस्थित गरिने
पत्रकार सम्मेलनमा वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाका निर्देशक डिल्लीराम बास्तोलाले यो वर्ष सातौँ कोरिया भाषा परीक्षाका लागि यही वैशाख १५ देखि १८ गतेसम्मका लागि तोकिएको दरखास्त सङ्कलन व्यवस्थित गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

उहाँले दरखास्त सङ्कलन केन्द्रमा पर्याप्त मात्रामा सुरक्षाकर्मी, पाल, स्वास्थ्यकर्मी, घुम्ती शौचालय आदिको व्यवस्था गरिने बताउनुभयो । यो वर्ष उपत्यकाभित्र ललितपुरको च्यासलको फुटबल खेल मैदान, भ्याली उमावि महाराजगन्ज, ल्याबरोटरी उमावि कीर्तिपुर, महेन्द्र आदर्श विद्याश्रम सातदोबाटो, नेपाल वेद विद्याश्रम संस्कृति मावि वनकालीबाट दरखास्त सङ्कलन गरिने उहाँले जानकारी दिनुभयो ।

उपत्यका बाहिर बुटवल, पोखरा, धरान, जनकपुर र डडेल्धुरामा दरखास्त सङ्कलन केन्द्र तोकिएको छ । रोजगार अनुमति प्रणाली इपिएसअन्तर्गत लिइने कोरियाली भाषा परीक्षा आगामी असार ४ र ५ गते हुँदैछ । यसवर्ष तीन हजार १०० कामदार उत्तीर्ण गरिने शाखाले जनाएको छ । रासस

तपाइँको प्रतिक्रिया ।