क्रिकेट खेलका लागि सुरक्षाको तयारी पूरा

क्रिकेट खेलका लागि सुरक्षाको तयारी पूरा

काठमाडौँ, ३ वैशाख । त्रिभुवन विश्वविद्यालयको मैदान कीर्तिपुरमा शनिबार र सोमबार हुने नेपाल र नामिबियाबीचको अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुरक्षाको सम्पूर्ण तयारी पूरा भएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा आज आयोजित पत्रकार सम्मेलनमा कार्यालयका प्रमुख आयुक्त प्रहरी अतिरिक्त महानिरीक्षक प्रतापसिंह थापाले प्रतियोगिताको सुरक्षाको कार्ययोजनाबारे जानकारी दिनुभयो ।
icc

उहाँले प्रहरी उपरीक्षकको नेतृत्वमा ७७३ जना प्रहरी खेलको सुरक्षार्थ परिचालन गरिने जानकारी दिनुभयो । त्यसबाहेक राष्ट्रिय अनुसन्धान विभागका सदस्य र ‘ब्याक अप’ सहयोगीको रुपमा सशस्त्र प्रहरीसमेत छुट्टै परिचालित हुनेछन् ।

मैदानभित्र प्रवेश गर्ने दर्शकको खानतलाशीका साथै ‘मेटल डिटेक्टर’को समेत प्रयोग गरिने छ । दर्शकले खेल अवधिमा अमर्यादित व्यवहार नगरुन् भनी दर्शक बस्ने बीचबीचमा प्रहरी राखिने छ ।

खेलका लागि आउने विदेशी खेलाडी, प्रशिक्षक र निर्णायकको सुरक्षाका लागि उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ओर्लिएदेखि बस्ने होटल, खेल मैदान हुँदै स्वदेश फर्कदासम्मका लागि सुरक्षा प्रबन्ध मिलाइएको छ ।

यसअघि विसं २०६६ मा नेपाल र अमेरिकाबीच कीर्तिपुर खेल मैदानमा भएको प्रतियोगितामा केही नेपाली दर्शकले उच्छृङ्खल गतिविधि गरेका थिए ।

सोही कारण अहिले पनि नेपालमा सुरक्षाको कारण देखाउँदै नेपाल र नामिबियाबीचको यो खेल भारतमा सार्ने प्रयास गरिएको थियो । तर नेपाली पक्षले सुरक्षाको पूर्ण प्रत्याभूति दिएपछि अन्तर्राष्ट्रिय क्रिकेट सङ्घ नेपालमा यो खेल आयोजना गर्न राजी भएको हो ।

यो खेल अन्तर्राष्ट्रिय क्रिकेट सङ्घको प्रत्यक्ष संलग्नतामा हुने भएकाले आगामी दिनमा नेपालमा अन्य प्रतियोगिता गर्न समेत सहयोग पुग्ने भएकाले दर्शकलाई सभ्य र मर्यादित रुपमा प्रस्तुत हुन प्रमुख आयुक्त थापाले आग्रह गर्नुभयो ।

यसैबीच, शनिबार दशरथ रङ्गशाला त्रिपुरेश्वरमा आयोजना हुन लागेको रेस्लिङ खेलको सुरक्षाका लागि समेत प्रहरीले कार्ययोजना तयार पारेको छ । रेस्लिङस्थलमा प्रहरी उपरीक्षकको नेतृत्वमा ३३६ जना प्रहरी परिचालन गरिने प्रमुख आयुक्त थापाले जानकारी दिनुभयो । रासस

तपाइँको प्रतिक्रिया ।