व्यक्तिगत लगानीमा गाउँमा मोटरबाटो

२१ चैत । तीन वर्षदेखि साउदी अरबमा होटल व्यवसाय सञ्चालन गर्दै आउनुभएका एक युवकले व्यक्तिगत लगानीमा गाउँमा मोटरबाटो निर्माण गर्नुभएको छ ।

पाँचथरको भारपा– ५ का ३३ वर्षीय श्रीप्रसाद यावा लिम्बूले रु २७ लाख खर्चेर गाउँमा मोटरबाटो निर्माण गर्नुभएको हो । मेची राजमार्गको डोपकुलेदेखि मानेडाँडा निम्नमाध्यमिक विद्यालयसम्मको पाँच किलोमिटर मोटरबाटो निर्माण गरिएको हो । विकासका अन्य पूर्वाधारसँगै मोटरबाटोको पहुँचबाट टाढा रहेको उक्त गाउँमा लिम्बूको एक्लो प्रयासमा सडक निर्माण गरिएको हो ।

1459680422139_BP-Saudi-road construction

साउदी अरबमा तीन वर्षदेखि होटल व्यवसाय सञ्चालन गर्दै आएका पाँचथर भारपा– ५ का ३३ वर्षीय श्रीप्रसाद यावा लिम्बूले रु २७ लाख खर्चेर व्यक्तिगत लगानीमा मेची राजमार्गको डोपकुलेदेखि मानेडाँडा निमविसम्मको पाँच किमि मोटरबाटो निर्माण गरिएको गरेका छन् । तस्बिर ः भरत प्रदान, दमाम (साउदी अरब), रासस

साउदीको जुबेलमा ‘न्यू अन्नपूर्ण नेपाली होटेल’ सञ्चालन गर्नुभएका लिम्बू आफ्ना गाउँलेले मोटरबाटो खन्न गर्न आग्रह गरेपछि निर्माणका लागि तयार हुनु भएको हो । निर्माण गरिएको उक्त सडकको नयाँ वर्षमा उद्घाटन गर्ने कार्यक्रम रहेको लिम्बूले बताउनुभयो । “सडक बनेकाले अब बिरामीलाई डोकोमा बोकेर अस्पताल लैजानुपर्ने बाध्यता हुनेछैन” उहाँले भन्नुभयो ।

मोटरबाटो सञ्चालन भएपछि पाँचथर, खुवा, सिडिम, प्राङबुङ, एकतीनलगायत गाविसका करिब एक लाख बासिन्दा लाभान्वित हुने बताइएको छ । भारतीय सीमासित जोड्ने लक्ष्यसहित निर्माण गरिएको सो सडक आगामी वर्र्षभित्र ग्राभेल गरिने लिम्बूको भनाइ छ । सो क्षेत्रका समाजसेवी, बुद्धिजीवी तथा स्थानीयवासीको सहमतिमा उक्त सडकको नाम ‘यावामार्ग’ राखिएको छ ।

मोटरबाटो खन्ने क्रममै मूल भेटिएपछि खानेपानी योजनाको काम अगाडि बढाउने लक्ष्य लिम्बूको छ । उक्त गाउँमा हिउँदयाममा खानेपानीको अभाव हुने गरेको छ । स्थानीय बासिन्दा हाल पानी लिन गाउँदेखि एक किलोमिटर टाढा रहेको खोलासम्म धाउनुपर्ने बाध्यता रहेको छ । मोटरबाटोसँगै खानेपानीको अभाव टर्ने भएपछि गाउँवासी निकै हर्षित भएका छन् ।

एघार वर्षअघि सामान्य कामदारका रुपमा लिम्बू साउदी अरब पुग्नुभएको हो । उहाँको होटेलमा अहिले १४ जना नेपालीले रोजगारी पाउनुभएको छ ।

तपाइँको प्रतिक्रिया ।