लिग–३ मा चौराह च्याम्पियन

धनगढी, १४  चैत । यहाँ सम्पन्न ‘सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिग–३’ प्रतियोगिताको च्याम्पियन चौराहा बनेको छ ।

निर्धारित २० ओभरको खेलमा टिम चौराहा र सिवाइसी अत्तरियाले समान १४६ रन बनाएपछि धकेलिएको सुपर ओभरको खेलमा टिम चौराहा विजयी बन्दै च्याम्पियन बनेको हो ।

सुपर ओभरको खेलमा स्टार खेलाडी भुवन कार्कीको चौकाको सहयोगमा टिम चौराहालाई विजयी बनाएको हो ।

जितसँगै टिम चौराहाले नगद रु तीन लाख पुरस्कारसहित ट्रफी उचालेको छ । उपविजेता अत्तरियाले नगद रु एक लाख ५० हजार पुरस्कार पाएको छ ।

सुपर ओभरको खेलमा पहिले ब्याटिङ गरेको अत्तरियाका विनोद भण्डारीलाई टिम चौराहाका तीव्र गतिका बलर योगेन्द्रसिंह कार्कीले पहिलो बलमै क्लिन बोल्ड गर्नुभयो । विनोद आउट भएपछि महबुब आलमलाई साथ दिन आउनुभएका प्रेम तामाङ पनि पाँचौँ बलमा रन आउट भएपछि अत्तरियाले तीन रन मात्रै बनाउन सक्यो ।

चार रनको विजयी लक्ष्य पाएको टिम चौराहाका लागि भुवन कार्कीले दोस्रो बलमा नै आफ्नो टिमलाई जित दिलाउन सफल हुनुभयो । महबुब आलमले फालेको पहिलो बल डट खेल्नुभएका कार्कीले दोस्रो बलमा चौका प्रहार गरेपछि जित सहज बनेको हो ।

तपाइँको प्रतिक्रिया ।