अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भारतीय विदेशमन्त्री सुस्मा स्वराजसँग भेटवार्ता

काठमाडौँ,२५ माघ । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भारतीय विदेशमन्त्री सुस्मा स्वराजसँग हिजो भेटवार्ता भएको छ ।

भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको बताइएको छ । सो अवसरमा नेपाल–भारत सम्बन्धका विषयमा महत्वपूर्ण छलफल भएको अर्थमन्त्री पौडेलका निजी सचिव धनीराम शर्माले जानकारी दिनुभयो ।

विदेशमन्त्री स्वराजले भारत सरकारको सहयोगमा सञ्चालित परियोजनालाई प्रभावकारी रुपमा अगाडि बढाउन र थप सहयोग गर्न आफूहरु तयार रहेको अर्थमन्त्री पौडेललाई विश्वास दिलाउनुभएको थियो ।

यस्तै, भूकम्पपछिको पुनःनिर्माणका लागि भारत सरकारका तर्फबाट प्राप्त हुने सहयोग रकमलाई पनि तत्काल उपलब्ध गराउने वचन विदेशमन्त्री स्वराजले अर्थमन्त्री पौडेललाई दिनुभएको शर्माले राससलाई जानकारी दिनुभयो ।

‘‘विदेशमन्त्रीसँग दुई देशको परियोजना, नयाँ आयोजनाका बारेमा महत्वपूर्ण कुराकानी भयो र प्रधानमन्त्री ओलीको भ्रमणलाई सार्थक बनाउन दुबै पक्षले सकारात्मक पहल गरिने भएको छ’’, अर्थमन्त्री पौडेललाई उद्धृत गर्दै शर्माले भन्नुभयो ।

यस्तै, भेटवार्तामा नेपाल–भारत सम्बन्धलाई नयाँ आधारमा अगाडि बढाउने र थप सुमधुर बनाउने विषय केन्द्रित रहेको थियो । सोमबार बिहान नेपाल र भारतका उच्च अधिकारीबीच थप छलफल हुने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणलाई सहजीकरण गर्न आज बिहान मात्रै त्यसतर्फ जानुभएका अर्थमन्त्री पौडेल नयाँदिल्ली पुग्नुभएलगत्तै भेटवार्तामा व्यस्त रहनुभएको हो ।

यसअघि नयाँदिल्ली पुगेलगत्तै उहाँले भारतीय गृहमन्त्री राजनाथ सिंहसँग भेटवार्ता गर्नुभएको थियो ।

सो अवसरमा उहाँले द्विपक्षीय हित र चासोका बारेमा कुराकानी गर्नुभएको अर्थमन्त्री पौडेलका सल्लाहकार मोहन चपागाईंले जानकारी दिनुभयो ।

गृहमन्त्री सिंहसँगको भेटवार्तामा मन्त्री पौडेलसँग अर्थ सचिव लोकदर्शन रेग्मी, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास बैरागीलगायतको उपस्थिति रहेको थियो ।

प्रधानमन्त्री ओलीको आगामी फागुन ७ गतेबाट हुने भनिएको भारत भ्रमणलाई द्विदेशीय सम्बन्ध र आसपी सहयोगको विस्तारका लागि अर्थमन्त्री पौडेलको भ्रमण केन्द्रित रहेको छ ।

अर्थमन्त्री पौडेलले सोमबार समकक्षी अरुण जेट्लीसँग भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ । रासस

तपाइँको प्रतिक्रिया ।