राजु श्रेष्ठको बिजय र रातोपुलको राजनीति !!!

राजु श्रेष्ठको बिजय र रातोपुलको राजनीति !!!

20388_10206536471110024_364799186272614697_n

– केशव पाठक

यावत् आंकलन तथा सर्वेक्षणलाई सही साबित गर्दै देशभरीकै ध्यान केन्द्रित भएको काठमाडौं क्षेत्र नं. ४ को नेका अधिवेशनमा प्रभावशाली नेता राजु श्रेष्ठ विजय भएका छन् । कुरामा हैन काममा विश्वास गर्छु भन्ने नारा तथा योजनामा हिँडेका श्रेष्ठले देखिँदा न्हुच्छेनारायण श्रेष्ठलाई हराएको देखिए पनि सारमा नेपाली कांग्रेसको बदलिँदो राजनीतिको भिन्न पाटो प्रष्ट पार्दछ । राजु श्रेष्ठको यो विजयसँगै नेपाली कांग्रेसको राजनीतिमा देखिएको व्यक्ति हावी तथा कसैलाई माथि उठ्न नदिने पुरातनवादी शैलीलाई काठमाडौं क्षेत्र नं. ४ नेपाली कांग्रेसका प्रतिनिधिहरुले निरुत्साहित पारेका छन् ।

नेपाली राजनीतिमा सबैले उदाउँदो सूर्य मानेका युवा नेता गगन थापाको क्षेत्रमा थापाले किन पराजय भोगे भन्ने विषय लामो समय बहश हुने कुरामा दुइमत छैन । महामन्त्रिका दावेदार रहेका थापा नेपाली राजनीतिमा यतिखेर सबैले केही गर्न सक्ने नेताको रुपमा लिएका व्यक्ति हुन् । नेपाली कांग्रेसभित्रको चरम गुटगत राजनीति र कोठे राजनीतिलाई मुक्त पार्न उनले भूमिका खेल्नु पर्ने नेपाली कांग्रेसभित्रको चरम आवश्यक्तबीच उनको यो पराजय उनी स्वयम्को राजनीतिक भविष्य बिगार्ने कडि साबित हुन सक्छ । केन्द्रमा जति उनी गुटगत राजनीति र कोठे राजनीतिको बिरोध गर्दछन् आफ्नो क्षेत्रमा त्यही राजनीतिका पृष्ठपोषण गर्नु तथा जित्न सक्ने मानिसलाई सभापतिको उम्मेदवार नबनाउनुको प्रतिफलले उनको राजनीतिक छवि एवम् अग्रतालाई विशाल धक्का पनि लाग्न सक्छ । पछिल्ला केही महिनादेखि विवादित व्यक्तिको पृष्ठपोषण गरेका नाममा आलोचित बनेका युवा नेता थापा मिठा र तार्किक भाषण गरेर सबैको दिल जित्न सक्ने नेपाली कांग्रेसका थोरैमात्र व्यक्तिहरुमध्ये एक हुन् । गगन थापाले बोले कति र काम गरे कति भन्ने कुराको बहश चलाउन नपाउँदै गत संबिधानसभाबाट विशाल मतले विजय पाएका उनी किन आफ्नै कार्यकर्ताको नजरमा कमजोर भए ? राजु श्रेष्ठले जितेको मध्यरात रातोपुल दरबार बाइ बाइ भन्ने नारा लाग्नुले धेरै कुरा अन्दाज लगाउन सकिन्छ ।

त्यसो त एउटै पार्टीमा जसले जिते पनि के भो र भन्ने तर्क पनि गर्न सकिन्छ तर क्षेत्र नं. ४ मा राजु श्रेष्ठको विजयलाई गगन थापाको आगामी राजनीति यात्रा क्षेत्र नं. ४ बाट सजिलो नहुने कुरामा दुइमत छैन । युवा नेता गगन थापा क्षेत्र नं. ४ बाट राजनीति शुरु गरेदेखि नै यस क्षेत्रमा प्रभावशाली नेता राजु श्रेष्ठ कट्टर आलोचक हुन् । गगन थापाको कट्टर आलोचक राजु श्रेष्ठ क्षेत्र नं. ४ को राजनीतिमा प्रत्यक्ष उदयले थापाले आफ्नो राजनीति गर्ने शैलीलाई परिमार्जन गर्न अत्यन्त आवश्यक छ । गगन थापा केही सिमित आफन्त र साथीहरुबीच सानो घेराको किचन क्याबिनेटबाट मात्र प्रभावित हुँदा उनले सोचेको भन्दा कमसल नतिजा आएको कुरामा दुईमत छैन । थापाको किचन क्याबिनेटले श्यामकृष्ण संगतभन्दा न्हुच्छेनारायण श्रेष्ठ प्रभावशाली छन् भन्ने गलत आंकलनको शिकार गगन भएका हुन् । कार्यकर्तासँग प्रत्यक्ष भेट नगर्ने, कसैसँग फोन तथा भेटघाट नगर्ने गगन थापाको शैली र त्यसको ठीक विपरित कार्यकर्ताको प्रत्यक्ष सम्पर्कमा रहने राजु श्रेष्ठको बानीले क्षेत्र नं. ४ राजुतिर ढल्कियो । विनाशकारी भुकम्पमा गगन थापा क्षेत्र नं. ४ मा खासै प्रभावकारी भूमिकामा देखिएनन् ठीक उल्टो राजु श्रेष्ठ दिनरात आफै घरघरमा गएर काम गर्न व्यस्त देखिए । भुकम्प पिडितलाई आफ्नो निजी खर्चमा ठूलो योगदान पनि दिए राजुले । यस्तै याबत् भिन्नताले राजुलाई क्षेत्र नं. ४ मा हावी हुन सजिलो भयो ।
क्षेत्र नं. ४ गगन थापाको ग्रिपबाट बाहिरिनुमा सबैभन्दा ठूलो भूमिका कसैको छ भने त्यो न्हुच्छेनारायण श्रेष्ठको छ । उनीसँग कृयाशिल सदस्य यति रुष्ट थिए कि क्षेत्रीय सभापतिमा उनले पाएको मत खासमा उनले पाएको नभैकन गगन थापाले पाएका हुन् । गगन थापाले किन न्हुच्छेनारायणलाई किन सभापति पदमा रुचाए भन्ने बारेमा गगन थापाका आफ्ना भनिने मानिसहरु पनि आश्चर्यमा थिए ।

महामन्त्रिको दावी गरिरहेका गगन थापालाई अबको चुनौति क्षेत्र नं. ४ मा राजु श्रेष्ठ नै हुन् । केन्द्रमा शेरबहादुर देउवासँग अत्यन्त निकट सम्बन्ध रहेका राजुको नेका काठमाडौंका हस्ति प्रकाशमान सिंहसँग पनि निकटता रहेको छ । यी सम्बन्धहरुले राजु श्रेष्ठले आफ्नो क्षेत्रमा संगठनमात्र हैन विकासमा ठूलो भूमिका खेल्ने कुरामा दुईमत छैन । फाल्गुण १५ मा हुने केन्द्रिय महाधिवेशनमा गगन थापालाई मत हाल्न आएका महाधिवेशन प्रतिनिधिलाई आफ्नो क्षेत्रमा कसरी हार भयो गगनजी ? भन्ने प्रश्नले सताउने पनि कुरामा दुईमत छैन ।

गगन थापा देशले आशा गरेका नेता हुन् । उनी आफ्नो राजनीतिको उपल्लो अवस्थामा छन् । नेपाली कांग्रेसको राजनीतिलाई उँचो बनाउन उनले महामन्त्रि जितेर आउनु आत्यावश्क पनि छ । यो सँगै उनले पछिल्ला केही वर्षमा संगठन निर्माणमा देखाएको शैलीलाई परिमार्जन गर्न आवश्यक छ । गगन थापा जसरी रातोपुल दरबार बन्न पुगे, समस्याको शुरुवात त्यहिँबाट भयो । गगन थापाजस्ता मानिस दरबार बन्नु हुन्न, गुटगत राजनीतिको पृष्ठपोषक बन्नु हुँदैन, कोठे राजनीतिबाट माथि उठ्नु पर्छ र आफन्त तथा साथीहरुको किचन क्याबिनेटलाई विघटन गर्न आवश्यक छ ।

काममा विश्वास गर्ने नेताको रुपमा छवि बनाएका नवनिर्वाचित सभापति राजु श्रेष्ठलाई अबको काठमाडौँको राजनीतिमा लामो रेसको घोडा भन्न सकिन्छ । श्रेष्ठको राजनीतिक सेन्स र कार्यकर्तासँगको लगावले उनलाई माथि पुर्याउने कुरा अहिले नै आंकलन गर्न सकिन्छ । यद्यपि सत्ता सदैव मानिसलाई कमजोर बनाउने कडि हो । उनले पनि गुटगत राजनीति, कोठे सभा र सानो झुण्डबीच रमाउने गल्ति गर्नु हुन्न । नेता राजु श्रेष्ठलाई धेरै धेरै शुभकामना तथा बधाई  !!!

तपाइँको प्रतिक्रिया ।