चिसोबाट बच्न चिकित्सकको सल्लाह, पक्षघात र स्टोक समस्या बढ्दो

चिसोबाट बच्न चिकित्सकको सल्लाह, पक्षघात र स्टोक समस्या बढ्दो

कल्पना पौडेल/काठमाडौँ, १५ पुस । चिसो बढेसँगै अचानक टाउको दुख्ने र बान्ता हुने समस्या देखिएपछि जाजरकोट डल्ली कालिमाटीकी द्वारिका रावललाई उनको परिवारले हतारिँदै नेपालगन्ज अस्पताल पु¥याए । १८ वर्षकी द्वारिकालाई सिटिस्क्यान गर्दा टाउकोमा रगत जमेको पाइएपछि शल्यक्रिया गर्नुपरेको थियो ।

तीन वर्षअघि शल्यक्रिया गरिएको भए पनि प्रत्येक वर्ष चिसो बढ्दा उनलाई पुनः बान्ता हुने र टाउको दुख्ने समस्या भइरहेको उहाँका बुबा मनबहादुर रावलले बताउनुभयो । यी केही उदाहरण मात्र हुन् ।

यस्तै, हेटौँडाका पुरुषोत्तम गोर्खालीको अचानक रक्तचाप बढेपछि उहाँको टाउकोमा रगत जम्मा भएपछि एक भाग नचल्ने (पक्षघात) भएको उहाँकी श्रीमती मनेश्वरी गोर्खालीले बताउनुभयो । जाडोको समयमा अरु समयमा भन्दा रक्तचाप बढी भई अचानक बान्ता हुने टाउको दुख्ने समस्या भएका बिरामीको सङ्ख्या बढेको वरिष्ठ स्नायु शल्यचिकित्सक डा वसन्त पन्त बताउनुहुन्छ ।

उहाँले अहिले स्नायु अस्पतालमा पक्षघात र स्टोक (नसा फुटेर रगत बग्ने वा नसामा बन्द हुने) का बिरामीले भरिएको बताउनुभयो । उहाँले भन्नुभयो – “स्टोक भन्नाले रगतको नसा फुटेर वा कुनै नसा बन्द भएको अवस्थालाई भनिन्छ । यस्तो भएको मानिस अचानक बेहोस हुने, बान्ता गर्ने वा पक्षघात (प्यारालाइसिस) भई शरीरको कुनै एक भाग नचल्ने पनि हुनसक्छ ।”

उहाँका अनुसार जाडोमा स्टोकका बिरामी बढी हुन्छन् । तर नसा फुटेर रक्तस्राव भएका बिरामी अझ बढी आउने गरेका छन् । बिहानै चिसोमा काम गर्ने, मर्निङ वाकमा जाने मानिसमा रक्तचाप अनियन्त्रित भएर पक्षघात, दीर्घरोग, मुटुसम्बन्धी रोग लाग्ने सम्भावना बढी हुने चिकित्सकको भनाइ छ ।

डा पन्त भन्नुहुन्छ – “जाडोमा स्टोकका बिरामी बढी हुन्छन् । धेरै मानिस उच्च रक्तचाप भएपछि औषधि खाने र बीचमा छाड्ने गरेका कारण पनि यस्तो समस्या बढी देखिएको छ ।”

स्टोकको समस्याबाट पुरुषलाई भन्दा महिला बढी प्रभावित हुने गरेको डा पन्तको अनुभव छ । महिलामा हर्मोनका कारणले बढी रक्तचाप घटबढ भइरहने र परिवार नियोजनका साधन खाने र लगाउने महिलालाई पनि बढी मात्रामा यस्तो समस्या देखिएको उहाँले बताउनुभयो ।

स्टोकबाट बच्नका लागि बढी पानी पिउने, सकेसम्म परिवार नियोजनका (पिल्स, सुई, कपर्टी नरपलान्टलगायतका) साधन प्रयोग नगर्ने र चिसोमा बिहानै हुस्सु लागेको समयमा बच्ने, घर बाहिर ननिस्कने, मोटरसाइकलमा बिहानै नहिँड्ने हो भने बच्न सकिने चिकित्सकको सल्लाह छ ।

चिसो बढेसँगै रक्तचाप बढ्ने र पक्षघात स्टोक हुने सम्भावना भएकाले चिसोबाट बच्न विशेष सावधानी अपनाउनुपर्ने चिकित्सकको सुझाव छ ।

चिसोमा अचानक बेसरी टाउको दुखेमा, बान्ता भएमा वा रक्तचाप उच्च भएमा तुरुन्त चिकित्सक कहाँ गई उपचार गराइहाल्नुपर्छ । उच्च रक्तचापको औषधि सेवन गरिरहेका बिरामीले बीचमै औषधि नछोडी नियमित सेवन गर्न पनि चिकित्सकले सुझाव दिएका छन् । यदि स्टोक भएमा त्यसको तुरुन्त उपचार गनुपर्ने वा मष्तिकको शल्यक्रिया गरी उपचार गर्नुपर्ने हुन्छ । रासस

तपाइँको प्रतिक्रिया ।